गोरखा: गोरखा नगरपालिका–७ सतिपीपलको एक घरबाट बरामद गरिएको ‘टल्कने’ ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ ।
अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खालीले पनि यसलाई शक्तिको प्रतिकका रूपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपमेयर मसली माया थोकरले जानकारी दिइन् ।
गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतवार सर्वपक्षीय बैठक बसेर क्वार्ज किस्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षित साथ भगवती शिलाका रूपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।
‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनलाई समेत थप आकर्षण गराउँछ’, उपमेयर थोकरले भनिन्, ‘गोरखालीले पनि यसलाई शक्तिको प्रतिकका रूपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।’ बरामद गरिएको क्वार्ज क्रिस्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खालीको चाहाना र भावनाअनुसार नै दरबार परिसरमा राख्न पालिकासहित सरोकारवाला सहमत भएको उनले बताइन् ।
‘खानी तथा भूगर्भ विभागमा राखे पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि राज्यकै सम्पत्तिको हुने हो’, उपमेयर थोकरले भनिन्, ‘राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्ज क्रिस्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखामा रहेको सङ्घसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो ।’
आफ्नो घरबाट बरामद गरिएको क्वार्ज क्रिस्टललाई गोरखकाली मन्दिर परिसरभित्र नै राख्नुपर्ने र समयसमयमा आफूहरूले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेका उनले बताइन् । सर्वपक्षीय बैठकमा औलोकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्त्व विभागमा पत्राचार गर्ने निर्णयसमेत गरिएको थियो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय गोरखा, जिल्ला प्रहरी कार्यालयलाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारी गराउन आवश्यक निर्देशन दिइएको उपमेयर थोकरले जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गाको अध्ययन गर्न गएको सोमवार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले त्यो ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो ।
भूगर्भविद्को टोलीले दुई दिन लगाएर परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले त्यो पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो ।
परीक्षणबाट त्यो ढुङ्गा महत्त्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए ।
त्यो ढुङ्गा ५२ किलो तीन सय ३० ग्राम रहेको छ । गएको असार १४ गते प्रहरीले त्यो टल्कने ढुङ्गा सतिपीपलका स्थानीय राममाया शाहीको घरबाट बरामद गरेको थियो । रासस