कैलाली: सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै छ। पहाडी समुदायका मानिसहरुले हरेक बर्षको भाद्र संक्रान्तिलाई ओल्के पर्वका रुपमा मनाउने गरेका छन्।
ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु यस पर्वको विशेषता रही आएको छ। यस्तै आफन्त, इष्टमित्रहरुलाई उपहार स्वरुप भेटघाट गर्ने चलन समेत रही आएको छ।
आजकै दिन सुदूरपश्चिममा ‘बूढी हाल्ने’ प्रचलन पनि छ। गाउँघर नजिकको अग्लो ठाउँमा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङको थुप्रो बनाउँदै ‘बूढी हाल्ने’ गरिन्छ।
असोज १ गते साँझ सबै जम्मा भएर हाँगा र झ्याङको थुप्रोलाई पोल्ने गरिन्छ। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम गर्दा अनिष्ट नआउने लोकविश्वास छ ।
सुदूरपश्चिमको महत्वपूर्ण पर्व ओल्केको लागि आज प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ।