धनगढी: सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएर खुलिसकेको अवस्थामा मन्त्रीहरु अनुगमनमा पुगेका छन्। हिजो (शुक्रबार) संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, अर्थमन्त्री नरेशकुमार शाहीलगायत एकीकृत समाजवादीका नेता तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले बुढीतोला सडकको निरीक्षण गरेका हुन्।
गत साउन २२ गते परेको अविरल वर्षाले गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा पहिरो गएर सडक अवरुद्ध भएकोमा केही दिनपछि सडक विभाग र सुरक्षा संयन्त्रले भीमदत्त राजमार्ग संचालनमा ल्याएको थियो। अहिले सो राजमार्ग जोखिमका बीच संचालनमा छ।
सोही क्रममा मन्त्रीहरुले हिजो सडक क्षेत्रको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री ज्वालाले भीमदत्त राजमार्गको करिब ४ सय मिटरमा आएको ठूलो पहिरोका कारण तराईबाट पहाडी जिल्लाको यातायात प्रभावित बन्न पुगेको बताए। उनले भीमदत्त राजमागर्गको विकल्पमा अन्य राजमार्ग सञ्चालन गर्न संघ र प्रदेश सरकारले सहकार्य गर्ने पनि बताए।
‘भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यहाँको जनजीवन प्रभावित भएको छ। पहिरो खुलाउने काम तुरून्त सुरू गरे पनि अहिलेसम्म दुइतर्फी बाटो खोल्न सकिएको छ,’ उनले भने, ‘भीमदत्तसहित तराईलाई पहाडी जिल्लाहरूसँग जोड्ने वैकल्पिक राजमार्गहरूको विकास कसरी गर्न सकिन्छ भनेर संघ र प्रदेश सरकारले सहकार्य गर्ने विषयमा पनि छलफल हुनेछ।’
भीमदत्त राजमार्गको विकल्पमा सेती राजमार्ग, खुटिया–दिपायल राजमार्ग, महाकाली राजमार्ग र दैजी–जोगबुडा–डडेल्धुरा राजमार्गको निर्माण गर्नुपर्ने आवश्यकता बढेको उनको दाबी छ।