धनगढी: कैलालीमा बहुविवाह गर्ने बढेका छन्। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषको संख्या जिल्लाभित्र बढ्दै गएको हो।
जिल्ला अदालत कैलालीमा आर्थिक वर्ष २०७४–७५ मा १३, आर्थिक वर्ष २०७५–७६ मा २१, र आर्थिक वर्ष २०७५–७६ मा बुहविवाहका १७ मुद्दा दर्ता भएको अभिलेख छ। त्यस्तै आर्थिक वर्ष २०७७–७८ मा १७ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए।
बहुविवाहका आर्थिक वर्ष २०७९–८० सम्म आइपुग्दा ६७ मुद्दा दर्ता भएका छन्। तीमध्ये ४१ मुद्दाको फैसला भइसकेको छ भने २६ मुद्दाको अन्तिम फैसला हुन बाँकी छ ।
जिल्लाभित्र बहुविवाहसँगै बालविवाह हुने क्रम पनि रोकिएको छैन्। सो अवधिसम्म बालविवाहका तीन मुद्दा अदालतमा परेकोमा सबै मुद्दाको फैसला भइसकेको छ। कतिपयले छोरा पाउने आसमा दोस्रो विवाह गर्ने गरेका घटना समेत बाहिर आउने गरेका छन्।
मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। साथै बहुविवाह स्वतः बदर हुने समेत उक्त दफामा उल्लेख छ।