धनगढी: महेन्द्रनगरमा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देबकोटामाथि आक्रमण गरेको प्रकरणमा ६ जना प्रहरी हिरासतमा पुगेका छन्।
आक्रमणको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरेकामध्ये ६ जनाले हिजो (सोमबार) प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार आत्मसमर्पण गर्नेमा कमल रोकाया, प्रविण बोगटी, केशव चन्द, नविन चन्द, रोहितजंग कुँवर र लेखान्त (क्षेत्री) बुढा रहेका छन्।
२७ साउनमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औं जिल्ला अधिवेशनका क्रममा देबकोटामाथि एमाले जिल्ला कार्यालयमै आक्रमण भएको थियो। निर्वाचन कमिटीमा रहेका देवकोटाको अहिले पनि काठमाडौंमा उपचार जारी छ।
निराजन शाहलाई भने यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।शाहसहित हिजो आत्मसमर्पण गरेकाहरुमाथि ज्यान मार्ने उद्योगको जाहेरीको आधारमा अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीको तयारी छ। नेकपा एमालेको जिल्ला कमिटी कञ्चनपुर र राष्ट्रिय युवा संघ नेपालले भने हिरासतमा पुगेकाहरुलाई कारबाही गरिसकेको छ। उनीहरु पार्टी र संगठनबाट निष्काशनमा परिसकेका छन्।
राष्ट्रिय युवा संघ नेपालले आफ्ना ३ जना केन्द्रीय सदस्य र १ जना केन्द्रीय विभाग सचिवलाई संघबाट निष्काशन गरेको हो।
युवा संघले लेखा समिति सचिव प्रविण बोगटी, संघका केन्द्रीय सदस्यत्रय केशव चन्द, रोहितजंग कुँवर र नवीन चन्दलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको जनाएको छ। भने अन्यलाई पार्टीले कारबाही गरेको हो।
यस घटनाबारे एमालेकै कार्यालयमा गुट, उपगुटका कारण एमालैकै कार्यकर्ताहरुबीच लफडा भएपछि त्यसले उग्र रुप लिएको बुझिएको छ।
र, यो पनि: