काठमाडौँः बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व भुमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई नेपाल प्रहरीले बयान लिन सीआईबीको कार्यालयमै बोलाएर फर्काएको छ।
दार्चुला घर भएका पूर्वमन्त्री जोशीलाई बयानका लागि सोमबार सीआईबीले बोलाएको थियो। तर, उनलाई सीआईबी प्रमुख किरण वज्राचार्यले बयान नलिई फर्काएका हुन्।
सीआईबी प्रमुखले बोलाएपछि जोशी सोमबार दिउँसो १ बजे सीआईबीको कार्यालय पुगेका थिए। तर बयान नलिई फेरि बोलाउला भनेर त्यसै फर्काएको जोशीले बताए।
‘पहिलो पटक सीआईबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो। तर फेरि अहिले नआउनु भनि खबर आयो। आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ’, जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो।’
जोशीले भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो प्रतिबद्धता कायम रहेको भन्दै आफू फरार नभएको पनि बताएका छन्।