काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भोलिदेखि नै उच्च र जिल्ला न्यायाधीश नियुक्तिको प्रक्रिया थाल्ने बताएका छन् । मंगलबार राष्ट्रपतिबाट शपथ ग्रहण गरेलगत्तै पदबहाली गरेका श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले अब आफ्नो ध्यान छिटोछरितो न्याय प्रवाह गर्नतर्फ जाने पनि बताए । तर त्यसका लागि उनले न्यायपालिका बाहेकका अन्य निकाय र सरोकारवालाहरुले पनि त्यतिकै सहयोग र समन्वय हुन जरुरी रहेको उनको भनाइ छ ।
उनले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गर्दै न्यायपालिकामा न्यूनतम भन्दा न्यूनतम बजेट नपाउँदा कर्मचारीहरुलाई उत्प्रेरणा दिन र भरथेग गर्न नसकिएको बताए ।
श्रेष्ठले पारिवारिक अदालतका लागि आफ्नो विशेष पहल हुने बताए । कानुन मन्त्रालयबाट स्वीकृति भएपछि पारिवारिक अदालत स्थापना हुने उनले बताए । पारिवारिक अदालत स्थापना गठन नभए पनि पारिवारिक अदालत हेर्ने मुद्दाका लागि काठमाडौँमा कम्तिमा दुई न्यायाधीश रहने डेडिकेटेड बेन्च सुरु गर्ने उनले बताए ।
श्रेष्ठले न्यायपालिकाको काम कारबाहीमा छिटो छरितो हुने आफूलाई विश्वास रहेको बताए । फरक मुद्दा व्यवस्थापन पद्धतिलाई आभास हुने गरी व्यवस्थापन गर्ने उनले बताए । उनले फैसला कार्यान्वयन राम्रो नभएका १७ स्थानलाई अभियानका रूपमा अगाडि बढाउने बताए । छानबिनमा तानिएका जिल्ला र उच्चका न्यायाधीशका सम्बन्धमा चाँडै टुंगो लगाइने उनको भनाइ छ ।