काठमाडौँ: नेपालमा पहिलो पटक केरामा ‘पानामा’ रोग (टिआर–४) फेला परेको हो। केराका लागि यो रोगलाई निकै खतरनाक मानिन्छ। यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जानकारी गराएको छ।
नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले पत्रकार सम्मेलन गरी रोगबारे जानकारी गराएको हो। कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीका अनुसार ‘पानामा’ (टिआर–४) केरामा लाग्ने एक प्रकारको रोग हो र नेपालमा यो पहिलो पटक फेला परेको हो।
टीकापुरका नौजना कृषकको केराखेतीमध्ये चारवटा खेतीमा चारदेखि ५० प्रतिशतसम्म बोटमा पानामा संक्रमण देखिएको केन्द्रले जनाएको छ। खासगरी भारतबाट आयातित जी ९ बिरुवामा रोगको प्रकोप बढी देखिएको बताइएको छ।
यसलाई समयमा नियन्त्रण गर्न सकिएन भने अन्यत्र पनि सर्न सक्ने र यसले केरा उत्पादनमा निकै प्रभाव पार्न सक्छ।
यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने भएकाले किसान, व्यापारी तथा अन्य सरोकारवाला सचेत रहनुपर्ने आवश्यकता देखिएको उनले बताए।