धनगढी: सशस्त्र प्रहरीमा हालै ११ एसएसपीको दरबन्दी थपिएको छ। सशस्त्र प्रहरीतर्फ थप ११ एसएसपीको दरबन्दीमा तीन प्राविधिक र आठ प्रशासनतिरका रहेका छन्।
त्यस्तै प्राविधिकतर्फ इन्स्पेक्टरबाट डिएसपीमा तीनजना बढुवा भैसकेका। बढुवाको यो लहर हवल्दारसम्मै पुगिसकेको छ।
अहिले त्यहाँ प्रशासन भन्दा प्राविधिकतिरका हाकिमहरुको पकड मजबुद छ। लुम्बिनीका डिआइजी विदुर खड्का भदौ १ मा घर जाने भएपछि पोखराबाट कालिदास धौबजीलाई पठाउने तयारी छ।
पोखरामा गणेश ठाडामगर, कूलबहादुर नेम्वाङमध्ये एक जान जोरजुलुम छ। धौबजी प्राविधिक ओभरसियर र लामो समय सशस्त्रको मर्मत शाखामा बसेका व्यक्ति हुन्।
राम्रै छविका उनी पहिला एकेडेमी, त्यसपछि पोखरा, अब लुम्बिनी जाने तयारी हुँदैछ। कर्णाली प्रदेशका इञ्चार्ज प्रदिपकुमार पाल पेट चिर्ने डाक्टर हुन्।
लक्ष्मणसिंह पनि प्राविधिक डिआइजी नै हुन्, कम्प्युटर अपरेटर। सुदूरपश्चिम प्रमुख कुमार न्यौपाने पनि प्राविधिक हुन्। अर्का डिआइजी विदुर खड्का प्राविधिक सेवाकै हुन्। अहिले सशस्त्रभित्र सेनाबाट गएका अन्तिम व्यक्ति बाँकी छन्, एआईजी सिपी गौतम। उनी घर गएपछि सशस्त्रबाट सेनाको बीऊ समाप्त हुन्छ।