धनगढीः उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई व्यक्तिको जग्गामा प्रवेश नगर्न आदेश दिएको छ।
न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न अन्तरिम आदेश दिएको हो। प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीले हर्कविरुद्ध हालेको रिटमा अदालतले यसअघि पनि सोही आदेश दिएको थियो।
धरान–४ स्थित छोटी मोरङ डाँडामा रहेको अधिकारी दम्पत्तिको जग्गामा साउन ६ गते हर्क वृक्षारोपण गर्न गएका थिए। सो जग्गा आफ्नो भएको उनीहरुले दावी गरेपछि विवाद भयो। त्यसविरुद्ध अधिकारी अदालत पुगे।
गत सोमबार मेयर हर्क फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद बल्झेको हो। उनी त्यहाँ पुग्दा अधिकारी दम्पत्तिले प्रतिवाद गरेका थिए। उक्त घटनामा आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरीसमेत दिएका छन्।
त्यसपछि पुनः अदालत गएका अधिकारी दम्पत्तिको पक्षमा अन्तरिम आदेश आएपछि मेयर हर्क अप्ठेरोमा परेका छन्।