धनगढी: अछाममा ‘मदिरालयहरु’ (मदिरा व्यापारी) बाट राजस्वका नाममा अन्धाधुन्ध रकम असुली गरेको आरोप लागेका एक प्रहरी इन्चार्ज जिल्ला तानिएका छन्। जिल्लाको चौरपाटी गाउँपालिकामा असुली धन्दा चकाएको आरोप लागेका प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्ट जिल्ला तानिएका हुन्।
महेन्द्रनगरपोष्टले सो विषयमा भदौ ८ गते समाचार प्रकाशित गरेपछि आज (शनिबार) बिष्टलाई जिल्ला तानिएको हो। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डिएसपी सन्तोष पाठकले बिष्टलाई जिल्ला तानिएको जानकारी दिए। उनका अनुसार सो विषयमा अनुसन्धान एवं छानबिन गर्नका लागि छानबिन समितिसमेत बनाइएको छ।
इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) खगेन्द्र साउदको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो। सो समितिले ३ दिनभित्र छानबिन प्रतिवेदन जिल्ला प्रहरी कार्यालय अछामलाई बुझाउने छ।
छानबिनपछि थप कारबाही प्रक्रिया अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। सई बिष्टमाथि मदिरा व्यवसायीबाट बढी रकम असुलेर पालिकालाई कम राजस्व बुझाएको सहित सेटिङ र मिलेमतोमा मदिरा बेचबिखन गराएको आरोप लागेको थियो।
र यो पनि: