धनगढी: अछाममा एकजना प्रहरी नायब निरीक्षकले असुली धन्दा चलाएको आरोप लागेको छ। जिल्लाको चौरपाटी गाउँपालिकास्थित प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्टले असुली धन्दा चलाएको आरोप लागेको हो।
उनले चौरपाटी गाउँपालिकामा (मदिरा कारोबार गर्ने व्यापारी) ‘मदिरालयहरु’बाट रकम असुली गरिरहेका हुन्। चौरपाटी गाउँपालिकाले विगत केही वर्षदेखि न्यून गुणस्तर भएका मदिरा (ठेल्ला, ठेउका) बेच्न रोक लगाएको थियो। सोही नियमअनुसार पालिकाले प्रहरीको सहयोगमा मदिरा बेच्ने र सेवन गर्नेलाई जरिवाना गराउँदै आएको छ। पालिकाको नियम अनुसार पहिलोपटक बेच्नेलाई १० हजार र सेवन गर्नेलाई दुई हजार रुपैयाँ तोकिएको छ। तर प्रहरी चौकी सिउँडीका सई बिष्टले भने बच्ने र सेवन गर्नेबाट तोकिएको भन्दा बढी पैसा असुलेर गाउँपालिकालाई कम रकम बुझाउने गरेको भेटिएको हो।
सो विषय खुलेपछि उनको असुली धन्दा सतहमा आएको हो। उनले जरिवानाका नाममा मदिरा व्यापारीलाई डर र धम्की दिएर रकम असुली गर्ने गरेको बताइन्छ।
प्रहरी नायब निरीक्षक बिष्ट यस कार्यालयमा सरुवा भई आउनुभन्दा अगाडि गाउँपालिकामा कम गुणस्तर भएको मदिरामा प्रतिबन्ध जस्तै थियो। तर उनले कमाण्ड सम्हालेदेखि जताततै मदिरा खुलेआम बेचविखन तथा विक्रिवितरण भइरहेको छ। यो कुरा उनी आफैं स्वीकार गर्छन्।
जसका कारण जरिवाना तिरेरै भएपनी नागरिकहरु अहिले सोही मदिरा सेवन गर्ने गर्दछन्। सोही मदिराका कारण फेरि चौरपाटीमा महिलामाथि हुने घरेलुहिंसा लगायतका घटनाहरु पनि बढेका छन्। यसरी सईले पैसा असुल्न थालेपछि विरोध सुरु भएको छ। चौरपाटी गाउँपालिकाका पूर्व अध्यक्ष हर्कबहादुर साउँदले पनि चौरपाटीमा प्रहरीले आतंक मच्चाएको गुनासो गरे। उनले अहिलेको प्रहरी नेतृत्वले सर्वसाधारणबाट पैसा असुली गरेको आरोप लगाए। यता पालिकाको कार्यालयले भने गत वर्षको माघ २९ गतेबाट बैशाख ६ गतेसम्म ६४ जना कारबाहीमा परेका छन् भने उनीहरुबाट दुई लाख ९३ हजार जरिवाना रकम असुल गरिएको जनाएको छ।
तर, पालिकाले उपलब्ध गराएको सूचनाअनुसार उनीहरुबाट यो भन्दाबढी रकम असुल गरेको बुझिएको छ। प्रहरीले गाउँपालिकामा बुझाएको लिस्ट अनुसार वडा नम्बर १ का गंगाराम थापालाई दुई हजार जरिवाना गराइएको रेकर्ड छ। तर उनीबाट प्रहरीले १४ हजार रुपैयाँ लिएको खुलेको छ। यस्तै वडा नम्बर १ कै चक्र साउँदबाट २४ हजार लिइएकोमा गाउँपालिकाको रेकर्डमा १२ हजार मात्रै देखिएको छ। वडा नम्बर ३ का कर्ण साउँदलाई १४ हजार जरिवाना गराइएकोमा दुई हजार मात्रै गाउँपालिकाको रेकर्डमा छ।
यसैगरी वडा नम्बर १ का रति साउँदलाई १५ हजार जरिवाना गराइएकोमा ५ हजारको मात्रै हिसाव देखिएको छ। वडा नम्बर ५ का गजेन्द्र खातिलाई २५ हजार जरिवाना गराइएको बुझिएको छ तर गाउँपालिकाको रेकर्डमा १५ हजार मात्रै उल्लेख छ। यस्तै वडा नम्बर २ का थाक्ने लुहारलाई दुई हजार पाँच सय जरिवाना गराइएको भएपनि रेकर्डमा भने छैन्। यसैगरी करि थापालाई ६ हजार र शान्ति कोलीलाई ८ हजार जरिवाना गराइएको बुझिए पनि प्रहरीले गाउँपालिकालाई बुझाएको हिसावमा सो रकम उल्लेख छैन्।
यसरी सई बिष्टले यी आठ जनाबाट मात्रै ७२ हजार पाँच सय असुली गरेको देखिन्छ। तर सई बिष्टले बिहीबार मात्रै शान्ति कोलीलाई ८ हजार रकम फिर्ता गरेको बुझिएको छ। बिहीबार पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सई, गाउँपालिकाका पूर्व अध्यक्ष र पार्टीका नेता लगायतको बैठकपछि सईले ती महिलालाई सो रकम फिर्ता गरेका हुन्। बिहीबारको बैठकमा सई बिष्टले अबदेखि यस्ता काम नगर्ने बाचासमेत गरेको बैठकमा सहभागिहरुले बताएका छन्।
यस्तै स्रोतका अनुसार वडा नम्बर १ का एक जनाबाट सईले भरुवा बन्दुक बरामद गरेर ३० हजार पनि असुली गरेका छन्। प्रहरी चौकी सिउँडी यो भन्दा अगाडि प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा रहेको थियो। तर अहिले त्यहाँ सईको नेतृत्व छ।
त्यहाँका स्थानीयहरुले चौकीका इन्चार्जले अवैैध (घरेलु तथा प्लास्टिक) जन्य मदिराको मनपरी ढंगले पैसा असुली गरी उक्त रकम गाउँपालिकाको राजस्व खातामा नदेखिएको बताएका छन्। पालिकाले पनि सो विषयमा छानबिन थालिएको जनाएको छ।
तर, यता सई बिष्टले भने छुटपुट रकम बुझाउन बाकी रहेको र काम गर्ने क्रममा केही गल्तीहरु भएको भएपनि सबै आरोपहरु सत्य नभएको दाबी गरे। उनले रकम असुली नगरेको बताउँदै कहिलेकाही रसिद साथमा नहुँदा काटिएको जरिवाना रकममा तलमाथि परेको हुनसक्ने जनाए।
यस्तै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले ती सईको गतिविधिको विषयमा आफू जानकार नभएको भन्दै बुझेर सो विषयमा छानबिन गरिने बताए। उनले आफूले यो विषयलाई गम्भीर रुपमा लिएको पनि जनाएका छन्।
यस्तो छ पालिकाको जरिवाना तथ्यांक