धनगढी: नेपालमा विद्युतीय सवारी प्रयोग सुरु भएको झण्डै एक दशक भयो । अहिले विद्युतीय सवारी साधनको प्रयोग नीजि, सार्वजनिक सवारी तथा ढुवानीको लागि समेत प्रयोग भएको पाइन्छ ।
पेशाले चिकित्सक रहेका निरज अर्याल विगत २ वर्षदेखि विद्युतीय सवारी प्रयोग गर्छन् । प्रदुषणमुक्त, वातावरणमैत्री रहेको विद्युतीय सवारी मर्मत खर्च पनि नहुने गरेको उनी बताउँछन् ।
धनगढीमा २०७८ बाट विद्युतीय गाडी बिक्री सुरु गरेको नवदुर्गा टेक्नोलोजिले हालसम्म ३५ गाडी बिक्री गरेको प्रबन्धक प्रदीप जोशीले बताए । अहिले गाडी किन्न आउने ग्राहकहरु ९५ प्रतिशतले विद्युतीय सवारी नै रोज्ने गरेको उनले बताए ।
निजी प्रयोग सँगै सार्वजनिक सवारीको रुपमा प्रयोग हुने सवारी प्रयोग गर्न ग्राहकहरु इच्छुक भएको बताए । उनले सार्वजनिक सवारीको रुपमा प्रयोग गर्न १६ जना ग्राहक इच्छुक देखिएपनि ४ वटा विद्युतीय गाडी सुदूरपश्चिममा आउने बताए ।
त्यसैगरी, विद्युतीय सवारी बिक्री गर्न धनगढीमै ब्रह्मा मोटर्सले सार्वजनिक सवारीको रुपमा भ्यान कारहरु बिक्री सुरु गरेको छ । हालसम्म १८ वटा भ्यानहरु बिक्री भई सडकमा गुडिरहेको ब्रह्मा मोटर्सका प्रतिनिधि सृजल पाण्डेयले बताए । उनले विद्युतीय सवारी प्रयोगकर्ता कम खर्च सँगै बातावरणमैत्री रोज्ने गरेको र अग्रीम बुकिङ समेत भइरहेको बताए ।
क्ञ्चनपुरमा रहेको पवनदुत यातायात प्रालिले १२ वटा विद्युतीय सार्वजनिक सवारी सञ्चालन गरेको छ । अध्यक्ष निराजन मल्लका अनुसार महेन्द्रनगरबाट धनगढी र नेपालगञ्जसम्म विद्युतीय गाडीहरु सञ्चालनमा रहेको बताए ।
त्यसैगरी, कञ्चनपुरमा प्रधान कार्यालय रहेको ब्लु सगरमाथा यातायात प्रालीले ६ वटा विद्युतीय सार्वजनिक सवारी सञ्चालन गरेको छ । विगत २ वर्षदेखि धनगढी महेन्द्रनगर विद्युतीय गाडी चलाउँदै आएका हरेन्द्र विष्ट भन्छन्, ‘विद्युतबाट चार्ज गर्दा पेट्रोल डिजेलभन्दा कम खर्च लाग्छ, मर्मत खर्च पनि लाग्दैन ।’
ब्लु सगरमाथा यातायात प्रालिले कञ्चनपुरको भीमदत्त नगरपालिका४ मा आफ्नै चार्जिङ स्टेशन राखेको छ । आफनो प्रालि अन्र्तगतका सवारी साधनहरु चर्जिङको लागि आफ्नै चार्जिङ राखेको ब्लु सगरमाथाको प्रतिनिधि वीरसिंह विष्ट बताउँछन् । विद्युतीय सवारी साधनको प्रयोग बढिरहेकाले सवारी धनि पनि बढिरहेको विष्ट बताउँछन् ।
कञ्चनपुरमा रहेको महाकाली बहुयद्देश्यीय यातायात प्रालिले विद्युतीय सार्वजनिक सवारी सेवा प्रयोग गरेको छ । ‘हामीले अहिले विद्युतीय सवारी साधनहरुको प्रयोग बढाइरहकोछौँ,’ महाकाली बहुयद्देश्यीय यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले भने, ‘अहिले हामीले धनगढी, महेन्द्रनगरमा २ गाडीबाट सेवा सुरुवात गरेका छौँ, अन्य सवारी पनि थपिने क्रममा छन् ।’
कैलालीमा नेपाल विद्युत प्राधिकरणले ३ स्थानमा चार्जिङ स्टेशन राखेको छ । धनगढी उपमहानगर अगाडि, फुलबारी बसपार्क र लम्कीमा चार्जिङ स्टेशन राखिएको विद्युत प्राधिकरणले जनाएको छ । विद्युतीय गाडी बिक्रेता कम्पनि टाटाले भने कैलाली कञ्चनपुरका विभिन्न ठाउँसहित डडेल्धुरामा समेत चार्जिङ स्टेशन राखेको छ ।