धनगढी: अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा विदेशी नागरिकको घुँइचो लागेको छ। रामारोशनमा एकै पटक विभिन्न १२ बढी देशका नागरिक आएका हुन्।
एकाएक ठूलो संस्यामा विदेशी नागरिक रामारोशन आउन थालेपछि स्थानीय अचम्मित बनेका छन्। ठूलो संख्यामा सरकारको इजाजत बिना आएका ३९ जना विदेशी नागरिकलाई ताल प्रबेशमा रोक लगायको र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चौखुट्टेमा रोकेको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए।
हाल रामारोशन आउने विदेशी नागरिकमा भारत अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भैरहेको डीएसपी पाठकले बताए।
विदेशी नागरिकहरू भारतीय सिमानाका प्रयोग गर्दै अछाम प्रवेश गरेको प्रहरीले आशंका गरेको छ। उनीहरू कुन प्रयोजनका लागि अछाम पुगे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
‘उहाँहरू बाट जानकारी लिन खोज्दा घुम्न आएको बताउँछन्। अनुमती बारे रामारोशन पर्यटन बोर्डलाई समेत कुनै जानकारी छैन,’ बोर्डकी निर्देशक गंगा बुढाले भनिन्।
के भन्छन् सीडिओ पोखरेल ?
रामारोशन आएका विदेशी नागरिकले एक महिना देखि तीन महिनासम्मको भिसा लिएको अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।
‘उनीहरू रामारोशन क्षेत्रमा टेन्ट गाडेर बसेका छन्। तर, रामारोशनमा कार्यक्रम गर्नलाई कही कतैबाट अनुमती लिएका छैनन्,’ उनले भने।
पोखरेलका अनुसार उनीहरू दुई हजार बढी रहेको र अन्य रामारोशन आउँदै गरेको छन्।