अछाम : अछामको चर्चित पर्यटन गन्तव्य रामारोशन जान रोकिएका विभिन्न ३५ मुलुकका दुई हजार पर्यटकलाई त्यहाँ जान अनुमति दिइएको छ। रामारोशन गाउँपालिका र रामारोशन पर्यटन विकास समितिले जिम्मा लिने भएपछि पर्यटकलाई जान अनुमति दिइएको हो।
रेन्बो ग्यादरिङका लागि भन्दै ठूलो संख्यामा विदेशीहरू रामारोशन जान थालेपछि सुरक्षा चासो भन्दै स्थानीय प्रशासनले उनीहरूलाई रोकेको थियो। प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले पर्यटन मन्त्रालयको अनुमति लिएका पर्यटकलाई रामारोशन जान दिइएको जानकारी दिए।
उनले भने, ‘भिसा भएका, पर्यटन मन्त्रालयले त्यहाँ जान अनुमति दिएका पर्यटकलाई जान दिने भन्ने भएअनुसार हामीले सहजीकरण गरेका छौँ।’
स्थानीय प्रशासनले रोकेपछि रामारोशन गाउँपालिका र रामारोशन पर्यटन विकास समितिले उनीहरूलाई रामारोशन आउन दिन भन्दै पर्यटन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेखेका थिए। जिल्ला प्रशासन कार्यालयले पनि त्यहाँको अवस्था जनाएर गृह मन्त्रालयलाई पत्र लेखेको थियो।
गाउँपालिका र पर्यटन विकास समितिले रेन्बो ग्यादरिङ कार्यक्रमलाई आफूहरूले अपनत्व लिने बताएपछि सुरक्षा अवस्था बुझेर उनीहरूलाई त्यहाँ जान दिने गृह मन्त्रालयले बताएपछि आज उनीहरूलाई रामारोशन जान दिइएको हो । प्रजिअ पोखरेलले भने, ‘गाउँपालिका र पर्यटन विकास समितिले हामी जिम्मा लिन्छौँ भनेपछि हामी यातायातमा सजीकरण गरेका छौँ । सुरक्षाको कुरा सुरक्षा योजना अनुसारै हुन्छ ।’
सामाजिक सञ्जालमार्फत रामारोशन जाने भन्दै बुछवलका सुनज खनालले आह्वान गरेको र त्यसपछि भारत, युरोप, अमेरिकालगायतका मुलुकबाट २ हजार पर्यटक एक महिना बस्ने गरी रामारोशन जान लागेको बताइएको छ। उनीहरूले त्यहाँ मेडिटेसन, म्यूजिकलगायतका कार्यक्रम गर्ने योजना बनाएको समेत जनाइएको छ।