काठमाडौं: अस्ति राति कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला हातपात भयो। बिरामीको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेको घाँटी नै च्यापेको सीसीटिभी फुटेज सार्वजनिक भएको थियो।
सोही घटनाको बिरोध गर्दै स्वास्थ्यकेन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले दोषीलाई कारबाही नभएसम्म आज असोज ४ गतेदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु ठप्प पारेका छन्। ‘सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं। घाइते स्वास्थ्यकर्मीलाई शीघ्र स्वास्थ्य लाभको कामना,’ उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।
आफ्नो न्यायका लागि लडिरहेका स्वास्थ्यकर्मीले सेवा ठप्प पारेका बेला नेपाली कांगेसले भने हातपात गर्ने रामबहादुर खड्काकै पक्ष लिंदै विज्ञप्ति निकालेको छ।
नेपाली कांग्रेस बेलौली नगर कार्यसमितिका सभापति पेपुराम चौधरी, प्रदेश (ख) सभापति चेतनकुमार राई र क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले स्वास्थ्यकर्मीकै कमजोरी भएको भन्दै सामान्य घटनालाई अतिरन्जित गरिएको बताएका हुन्। उनीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीले पनि उपचारमा ढिलासुस्ती गर्दै अभद्र व्यवहार गरेको उल्लेख छ।