डडेल्धुरा : डडेल्धुरामा विवाहित महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने चार युवालाई प्रारम्भिक रूपमा बलात्कार गरेको स्विकारेपछि जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन्।
केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन्। त्यहाँ शिविरमा उनको भिडिओ एक्सरे गर्दा ५ महिनाको गर्भ रहेको देखाएपछि घटना बाहिर आएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले बताए ।
ती महिलाका श्रीमान् डेढ वर्षदेखि भारत थिए। पीडित महिला एक छोरीकी आमा हुन्। स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते गोठमा बेलुकीको समयमा गरी दुईपटक ती महिलालाई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी कार्कीले जानकारी दिए।
कार्कीका अनुसार बिहीबार डडेल्धुरा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।