बझाङः बझाङमा नेपाल प्रहरीको दरबन्दी तीन सय ८३ जना भए पनि हाल तीन सय ६ मात्रै कार्यरत छन्। जिल्ला प्रहरी कार्यालय बझाङअन्तर्गतका युनिटमा ७७ जनाको अभाव छ।
बझाङमा दरबन्दी अनुसार प्रहरी नहुँदा सुरक्षा चुनौती थपिदै गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले बताए।
डीएसपी शाहका अनुसार जिल्ला प्रहरी कार्यालय बझाङअन्तर्गत ३० वटा युनिट रहेको भएपनि हाल ३ सय ६ जना प्रहरी सुरक्षार्थ खटिनुपर्नेमा ७६ जना दुर्गम जिल्ला भएकै कारण काज मिलाएर बझाङ बाहिर बस्ने गरेका छन्।
‘७६ जना उपस्थित भएको भए अहिले असुरक्षित भएका ठाउँमा खटाउन सकिने र सुरक्षा अवस्था राम्रो हुने थियो। ७६ जना अनुपस्थित मध्ये अब जिल्लामा दुई तीन जनाभन्दा बढी हाजिर हुने सम्भावना छैन्,’ उनले भने।
जिल्लाभर हिंसात्मक घटना बृद्धि भइरहेका बेला आम जनता र स्थानीय तहले गाउँ गाउँमा प्रहरीको माग गरिरहेको तर जिल्लामा आवश्यक सुरक्षाकर्मी नहुँदा समस्या भएको उनको भनाइ छ।
अहिले छबिसपाथिभेरा ७, बुंगलका केही वडा, केदारस्युँको भामचौर, काँडाचौर लगायतका ठाउँमा प्रहरी युनिट स्थापना गरिदिन माग भइरहेको छ।