धनगढी: नेकपा एमालेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश कार्यालय, कैलालीको जिल्ला पार्टी कार्यालयसहित धनगढी उपमहानगरपालिकाको पार्टी अफिसमा तालाबन्दी गरिएको छ। धनगढीमा रहेका नेकपा एमाले निकटकै युवा नेताहरुले पार्टी कार्यालयहरुमा ताला लगाएका हुन्।
एमाले कैलालीको जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्यसमेत रहेका किशोर शाहले आज (मंगलबार) पार्टी अफिसहरुमा ताला लगाइएको जानकारी दिए। उनका अनुसार युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको हो।
धनगढी उपमहानगर कमिटिले साेमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेकाे थियाे। प्रतिनिधि चयनमा एकलाैटी र मनाेमानी गरिएका कारण बाध्य भएर तालाबन्दी गरिएको एमाले शाहले बताए। शाहले पार्टीको विधि, विधान विपरीत हुनेगरी गरिएको प्रतिनिधि छनोट सिफारिस सच्याउनुपर्ने बताए।
धनगढीसहित जिल्ला र बाहिरका विभिन्न क्षेत्रमा नेताहरुले भुगोलमा रहेका युवा नेता, कार्यकर्तालाई छोडेर अन्यलाई प्रतिनिधि बनाइएको तालाबन्दीकर्ताहरुको ठमम्याई छ।
युवा नेताहरूले पार्टी कार्यालयकाे मूल गेटमै तालाबन्दी गरेपछि नगर, जिल्ला र प्रदेश पार्टी कार्यालयकाे कामकाज प्रभावित बनेको छ। यहीँ असोज २१ र २२ गते धनगढीमा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशन तोकिएको छ।