धनगढी : सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरुबीच उपसचिव पदमा सहमति नहुँदा अधिवेशन लम्बिदै गएको छ । शनिवारदेखि सुरु भएको अधिवेशन विहीबारसम्म पनि अधिवेशनले पदाधिकारी तथा नेतृत्व चयन गर्न सकेको छैन । उपाध्यक्षमा मनोनयन दर्ता गरेका पाँच जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन ।
अध्यक्षका उम्मेदवार भरत साउदले आफ्नो पक्षले उपसचिवमा नरबहादुर बिकको नाममा सहमति भए अध्यक्ष र सचिव पदमा उम्मेदवारी फिर्ता लग्ने सर्त अघि सारेका छन् । अध्यक्षका उम्मेदवार साउद नेता भीम रावल निकट हुन् । यो समूहको नेतृत्व गरिरहेका नेता झपट रावलले उपसचिवमा बिकको नाममा सहमति भए मात्र अध्यक्ष र सचिव पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने बताए ।
संस्थापन पक्षका अशोककुमार चन्दलाई उम्मेदवारी फिर्ता गर्न लगाएर बिकलाई उपसचिव बनाउन नेताहरू तयार छन् ।तर दुवै उपसचिव (महिला)मा सहमति नबन्दा समस्या देखिएको छ । कन्दकला राना र भागरथी विष्टमध्ये उपसचिव कसलाई बनाउने भन्ने सहमति नहुँदा समस्या भएको एक नेताले बताए । तर, सहमति खोज्ने प्रयास जारी राखिएको छ । कन्दकला रानालाई उपसचिव बनाउनुपर्ने भन्दै नारदमुनि राना अडानमा छन् ।