काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसलाई जोगाउनुपर्ने बताएका छन् ।
आज (मंगलबार) नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै भाग कांग्रेस खोजेर पनि नहुने बताए ।
गठबन्धनमा केही लेनदेन हुन्छ भन्दै सबै कुरा कांग्रेसीहरुलाई नै दिनका लागि गठबन्धन नबनेकोपनि उनले बताए ‘उनीहरुले पनि केही पाउन गठबन्धन गरेका हुन् ।
उनीहरुले पनि कांग्रेस ठूलै होस्, हामी सानै पार्टी भएर बस्छौँ भनेका छन्,’ देउवाले भने, ‘पोखरामा हाम्रै (कांग्रेसकै) मुख्यमन्त्री छ, धेरै ठाउँमा मन्त्रीमा भाग पाएकै छौं । सुदूरपश्चिममा पनि सरकारमा छौँ र कर्णालीमा भागबण्डाबाटै मुख्यमन्त्री पाएका छौँ ।’ आफूले सरकारमा बसेर राम्रा काम पनि गरिरहेको उनले बताए ।
उनले भने, ‘अहिले हाम्रो गठबन्धन टुटाउने धेरै षडयन्त्र भइरहेको छ । यो टुट्यो भने त्यही हालत हुने हो जस्तो प्रचण्ड र ओली मिलेपछि भएको थियो ।’ उनले आफू रहरले प्रधानमन्त्री बनेको नभई तत्कालीन सरकारमा समस्या आएपछि आफूलाई प्रधानमन्त्री बनिदेऊ भनेर भनेपछि मात्रै आफू सत्तामा आएको बताए ।