धनगढी: किसानहरूको तरकारी तथा फलफूल सञ्चित गर्ने उद्देश्यले कैलालीको चुरे गाउँपालिकामा २३ टन क्षमताको कोल्ड च्याम्बर सञ्चालनमा आउने भएको छ ।
सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले गाउँपालिकाको वडा नम्बर ३ क्रसर डाँडामा कोल्ड च्याम्बरको पूर्वाधार तयार गरी सञ्चालनका लागी चुरे गाउँपालिकालाई सोमवार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।
५१ लाख १६ हजार २ सय ८४ रुपैयाँको लागतमा चन्द्र बिकास यज्ञ लक्ष्मी निर्माण सेवा धनगढीले तयार गरेको भवन गत साउन १३ गते निर्देशनालयलाई हस्तान्तरण गरेको थियो । निर्देशनालयले भवनको उद्घाटन गर्दै सञ्चालनका लागी गाउँपालिकालाई जिम्मा दिएको हो ।
कोल्ड च्याम्वरको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीले कृषि उत्पादनको उर्वर भूमि चुरे क्षेत्रमा कोल्ड च्याम्वर अत्यावश्यक रहेको बताए । जेनरेटरबाट सञ्चालन गर्दा एक दिनमै १० हजारको डिजेल लाग्ने भएकाले बिजुली जडानको विकल्प नभएको उनको भनाइ छ ।
‘तरकार फलफूल र जडिवुडिका लागी यो सम्भावना बोकेको स्थान हो। कृषकहरूको उत्पादनलाई खेर जान नदिन हामीले यो अवधारणा लिएका हौँ।चुरेमा कफीको पनि राम्रो सम्भावना छ । यसका लागी पनि हामीले कार्यक्रम बनाएर उत्पादनमा जोड दिनुपर्छ,’मन्त्री चौधरीले भने ।
मन्त्रालयका सचिव डा. मदनराज धामीले कोल्ड च्यामबर यथाशीघ्र सञ्चालनमा ल्याइनुपर्ने बताए । ‘हामीले भवन र प्रविधि तयार गरी प्रदान गरेका छौँ । अव गाउँपालिकाले कृषकहरूले सेवा पाउने गरी तत्काल सञ्चालनमा ल्याउनु पर्छ यसका लागी मन्त्रालयबाट के गर्नु पर्छ हामी तयार छौँ,’सचिव धामीले भने ।
कोल्ड च्याम्वर भवनको साँचो हस्तान्तरण गर्दै कृषि विकाश निर्देशक यज्ञराज जोशीले यसको संरक्षण र सञ्चालनको दायित्व पालीकाको रहेको बताए । कृषकका तरकारी तथा फलफूल सङ्कलन र बजारीकरणका लागी उपयुक्त स्थानमा च्यामबर बनाइएको बताउँदै जोशीले चुरेका कृषकहरूले यसबाट प्रशस्त लाभ पाउने जानकारी दिए ।
‘चुरेमा उत्पादन भएको तरकारी फलफूलले कैलाली–कञ्चनपुरको माग पुरा गर्न सक्छ । यहाँको मुख्य समस्या उत्पादित तरकारी समयमै बजार सम्म पु¥याउन नसक्नु हो । यहीँ समस्यालाई मध्यनजर गर्दै हामीले च्यामबर निर्माण गरेका हौँ । आवश्यकताको आधारमा यहाँ कोल्ड च्यामबर थप गर्न सकिन्छ । जग्गा प्रशस्त छ । अव गाउँपालीकाले सञ्चालन गर्छ ।यसमा प्राविधिक र आर्थिक सहयोग हामी गर्न तयार छौँ,’निर्देशक जोशीले भने ।
कार्यविधि तयार गरेर कोल्ड च्यामबर सञ्चालन गरिने चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले बताए । ‘कृषि विकाश निर्देशनालयले हामीलाई हस्तान्तरण गरेको छ । बिजुली जडान,शौचालय निर्माण लगायतका काम बाँकी छ । सञ्चालनका लागी आवश्यक जनशक्ति को पनि व्यवस्थापन गर्न बाँकी छ । यथाशीघ्र सञ्चालनका लागी हामी प्रयासमा छौँ,‘गाउँपालिका अध्यक्ष बोगटीले भने ।
कोल्ड च्याम्बर सञ्चालनमा आउनुभएपछि चुरेका कृषक हर्षित बनेका छन् । जोगाउन नसकेर खेर गइरहेको तरकारी फलफूलबाट मूल्य पाइने अपेक्षामा उनीहरू छन् ।