मुगु : मुगुस्थित छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरिले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजार (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरिले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ। हत्या अनुशन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको थियो।
आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले बताएका थिए।
शंकास्पद र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको साँचो हो, एकिन र विस्तृत घटनाबारे थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने प्रनाउ थापाले बताए।
यसैबीच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन्। अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन्।
प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रनाउ विरेन्द्र थापाले घटनास्थलको स्थलगत भ्रमणमा सघाइरहेका छन्।
कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो। यो टोलीले शनिबारदेखि अनुसन्धानको काम जारी राखेको छ।
शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो।