काठमाडौं : नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मंगलबार टियु मैदानमा भएको खेलमा नेपालले दोस्रो जित हात पारेको हो।
मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। ३४ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरेका थिए।
त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए। उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। आसिफ शेखले भने २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन बनाए। कप्तान रोहित पौडेल भने २ रनमै आउट भए। सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे।
यसअघ टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। मलेसियाका लागि साइद अजितले सर्वाधिक ६८ रन बनाए। उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै जुबइदीले २४, सर्विभनले १३ र विजय युनीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अकंकको रन जोड्न सकेनन्।