धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनल खेल खेल्ने सम्भावना बढेको छ।
यसअघि छनोटको पहिलो खेल अन्तर्गत सिंगापुरविरुद्धको खेलअघि भएको अभ्यासका क्रममा उनको बाँया खुट्टाको एंकलमा चोट लागेको थियो।
चोटपछि उनले एसिया छनोटको फाइनलका सबै खेल गुमाउने भनिएपनि ओमानविरुद्धको खेलअघि अभ्यासमा देखिएका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्धको खेल चलिरहँदा दिपेन्द्रले नेट अभ्यास गर्न पुगेका थिए।
पछिल्लो समय उच्च लयमा देखिएका ऐरी छनोट खेल अघि नै चोट बोक्न पुगेका थिए। ऐरी ब्याटिङसँगै बलिङ र उत्कृष्ट फिल्डिङ पनि गर्ने गर्छन्। ओमानविरुद्धको खेलमा नेपाल ५ रनले पराजित हुँदा पनि दिपेन्द्रको अभाव खड्किएको थियो।
मुख्य प्रशिक्षक मोन्टी देसाईंले दीपेन्द्रलाई सेमिफाइनलमा खेलाउने सम्भावना बढी छ। किनभने उनको खुट्टामा चोट भइरहँदा पनि प्रशिक्षक देसाईंले उनको स्थानमा अन्य खेलाडी प्रतिस्थापन गरेका छैनन्।
ओमानसँगको खेलपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले पनि ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताएका थिए।
‘दीपेन्द्र हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन्। उनको उपचारमा हामीले सक्ने जति सबै काम गरिरहेका छौं। यो प्रतियोगिता नेपालका लागि मात्र नभएर उनका लागि पनि महत्वपूर्ण छ, ’ देसाइले भने।