दार्चुला– दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमतिसँगै कांग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ । जिल्लामा पाँच स्थानीय तहमा नेपाली कांग्रेस र चार वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएसँगै नौगाडमा कांग्रेस कार्यकर्ताले राजीनामा घोषणा गरेका छन् ।
गाउँपालिकामा कांग्रेसलाई नै अन्धकारमा राख्ने गरी गठबन्धन भएको भन्दै संयुक्त रुपमा कांग्रेस कार्यकर्ताले राजीनमा दिएका हुन् । कांग्रेसको तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्षका प्रत्याशी लालबहादुर धामी नेतृत्वमा दर्जनौं कायकर्ताले एकमुष्ठ साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।
यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरमलसिंह धामी, क्षेत्रीय प्रतिनिधि बिरेन्द्रसिंह ठगुन्ना, क्रियाशिल सदस्य बिक्रमसिंंह धामी, नेपाली कांग्रेस नौगाड गाउँकार्य समिति सचिव रामबहादुर धामी, क्रियाशिल सदस्य हिरासिंह धामी, सुरेशसिंह धामी, प्रेमसिंह धामी, क्षेत्रीय प्रतिनिधि हरुलीदेवी ठगुन्नाले संयुक्त रुपमा राजीनामाको घोषणा गरेका छन् ।
यस्तै नेपाली कांग्रेस नौगाड गाउँपालिका वडा नम्बर १ का वडा सभापति नन्दनसिंह डडालले पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । नौगाड गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । यता अपिहिमाल गाउँपालिकाबाट नेपाली कांग्रेसका अध्यक्षका प्रत्याशी लोकेन्द्रसिंह लोथ्यालले गठबन्धनको पक्षमा मतदान नगर्न अपिल गरेका छन् । उनले हालसम्म रुख चिन्हबाहेक अरु चिन्हमा भोट नहाल्न तथा कांग्रेसकै चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
अपिहिमाल गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रले नेतृत्व पाएको छ । यसैगरी नेपाल विद्यार्थी संघका अध्यक्ष रमेश भट्टले गठबन्धनमा मतदाताले विवेक प्रयोग गर्न सक्छ भन्ने हेक्का रहोस भन्दै सामाजिक संञ्जालमा आलोचना गरेका छन् ।
शैल्यशिखर नगरपालिकामा माओवादी केन्द्रका नेता कालु चन्दले शैल्यशिखरका माओवादी कार्यकर्ता गठबन्धनको पक्षमा नरहेको बताएका छन् । उनले नेकपा माआवादी केन्द्र भित्रका प्रतिगमनकारीहरुलाई लखेट्नपर्ने बताए ।
यस्तै नेपाली कांग्रेसका तर्फबाट मार्मा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षका आंकाक्षी चन्द्रदेव जोशीले गठबन्धनको विरुद्धमा स्वतन्त्र उम्मेदवारीसमेत घोषणा गरेका छन् ।