डडेल्धुराः डडेल्धुराको जेसीज वर्ष २०२३ ले आयोजना गरेको जिल्ला स्तरीय खुला भलिबलको उपाधि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हात पारेको छ।
शनिबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई ३-० को सोझो सेटमा हराउँदै अनेरास्ववियुले उपाधि हात पारेको हो।
उपाधिसँगै अनेरास्ववियुले नगद ५१ हजार १ सय ११ रूपैयाँसहित ट्रफि हात पार्न सफल भयो भने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले २५ हजार १ सय ११ रूपैयाँमा चित्त बुझायो।
यस्तै, आयोजक जेसीज डडेल्धुराले सशस्त्र प्रहरी गुल्म न. ५२ लाई पराजित गर्दै तृतीय स्थान हासिल गर्न सफल भयो। आयजक जेसीजले १५ हजार १ सय ११ रूपैयाँ पुरस्कार प्राप्त गर्यो।
डडेल्धुरा जेसीजको आयोजनामा कात्तिक १२ गतेदेखी १८ गतेसम्म जेसीज सप्ताह कार्यक्रमको अवसरमा भलिवल प्रतियोगिताको आयोजना गरिएको जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले जानकारी दिए।
जेसीज सप्ताह कार्यक्रम अन्र्तगत कात्तिक १२ गते बिहान ८ बजे जेसीज सप्ताह कार्यक्रम उद्घाटन हुने अध्यक्ष अवस्थीले जानकारी दिए। उनले सोही दिन रेडक्रस सोसाइटी डडेल्धुरामा रत्तदान कार्यक्रम समेत रहेको बताए।
अध्यक्ष अवस्थीका अनुसार १३ गते दिउँसो डडेल्धुरा बसपार्कमा म्युजिकल चेयर र घैटो फोड्ने कार्यक्रम गरिएको थियो भने १४ गते गन्यापधुरा गाउँपालिका स्थित बडालमा नि:शुल्क आँखा चेकजाँच तथा औषधि वितरण कार्यक्रम गरिएको थियोे।
कात्तिक १५ गते अमरगढी नगरपालिका-२ बिरखम्ममा नि:शुल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधि वितरण कार्यक्रम गरिएको उनको भनाइ छ।
यसैबीच आज एक कार्यक्रमकाबीच जेसीज सप्ताह गरिक्रम समापन गरिएको छ।