काठमाडौं– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ताको मिति तोकिएको छ । १२ गते अपरान्ह मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ।
मनोनयन पत्र दाखिला गर्ने प्रक्रियामा उम्मेदवारले धरौटी राख्नुपर्ने स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा उल्लेख छ।
निर्देशिकाको दफा ३६ बमोजिम वडा सदस्य पदको लागि पाँच सय रुपैयाँ, वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी राख्नुपर्छ।
त्यस्तै, अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि एक हजार पाँच सय रुपैयाँ र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको सदस्य पदको लागि पाँच सय रुपैयाँ धरौटी राख्नु पर्ने निर्देशिकामा भनिएको छ।
यद्यपि, महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा ‘आर्थिक रुपले विपन्न’ (वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको) व्यक्तिको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था पनि निर्देशिकामा छ।
कुनै एउटा पदको निर्वाचनमा एक व्यक्तिलाई उम्मेदवार मनोनयन गर्नको लागि एकभन्दा बढी मनोनयनपत्र दाखिला गर्नु परेमा एउटा मनोनयनपत्रको लागि मात्र धरौटी राखे हुन्छ।
धरौटी राखेको बैंक भौचर वा नगदी रसिद मनोनयनपत्रको साथमा संलग्न गर्नुपर्ने व्यवस्था छ। निर्देशिकाको दफा ४७ को (च) मा धरौटी नराखेमा मनोनयन बदर हुने उल्लेख गरिएको छ।
निर्वाचन अधिकृतले निर्वाचनमा खसेको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले दाखिला गरेको धरौटी जफत गर्नुपर्ने निर्देशिकाको दफा १५५ भनिएको छ।
तर, मतदानमा जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत प्राप्त गरेकै व्यक्ति निर्वाचित भएको खण्डमा भने उम्मेदवारले राखेको धरौटी जफत हुँदैन।