डोटी : डोटीको सायल गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् ।
‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरुप तत्काल राहतका लागि जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने छौं,’ विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिकाले भूकम्पमा परी पुरिएकाहरुको खोज, उद्धार र घाइतेहरुको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न पनि अपिल गरेको छ ।
यसअघि बोगटान फुड्सिल गाउँपालिकाले पनि जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।