काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स नेपालको विकासमा महत्वपूर्ण भुमिका खेलेको बताएका छन् ।
महामन्त्री शर्माले नेपालमा हिंसाको दश वर्षे कालखण्ड, महाविनाशकारी भुकम्प, नाकाबन्दीलाई रेमिटान्सले टेवा दिएर देशको प्राण भरेको बताउदै तत्काल वैदेशिक रोजगारको विकल्प नभएकाले यस क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न पार्टीका तर्फबाट पहल गर्ने बताए ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको एघारौं साधारणसभामा प्रमुख अतिथि शर्माले रोजगारी र अन्य अवसरहरूको खोजीमा एक ठाउँबाट अर्को ठाउँ वा कम विकसित मुलुकबाट विकसित मुलुकमा जाने क्रम वर्तमान विश्वमा सामान्य र स्वभाविक बनेको बताए ।
महामन्त्री शर्माले यस क्षेत्रमा रहेका कमीकमजोरी सुधार गरेर अघि जानुको विकल्प नरहेको बताए । २०४६ सालको परिवर्तनपछि एकथरीले भर्खर किशोर अवस्था पार गरेका युवायुवतीलाई राज्यसत्ता जित्ने नाममा बन्दुक थमाएपछि नेपाली काँग्रेसले उनीहरूलाई हिंसाबाट जोगाउन विदेश पठाउन पासपोर्ट थमाएको र त्यसरी पासपोर्ट थमाउनु त्यस समयको बाध्यता रहेको बताए ।