काठमाडौं : आईसीसी एकदिवसीय क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन्। खेल दिउँसो सवा २ बजे शुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन्।
सात खेलमा दुई खेल जितेर चार अङ्क जोडेको नेदरल्याण्ड्स तालिकाको नवौँ र समान सात खेलमा एक खेल जितेर २ अङ्क जोडेको इंग्ल्याण्ड तालिकाको पुछारमा रहेको छ।
यसैबीच भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ। अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो।
यी दुई देशबीच कात्तिक ३० गते कोलकाताको इर्डेन गार्डेन मैदानमा सेमिफाइनल खेल हुनेछ। यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ।
चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। समान ८ खेलमा समान ८र८ अङ्क रहेका यी टोलीमध्ये रनरेटका आधारमा न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौँ र अफगानिस्तान छैटौं स्थानमा छन्।
यी तीन टोलीमध्ये १० अङ्कमा पुग्ने र नेटरनरेटमा माथि रहने टोली शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्नेछ । सेमिफाइनल विजेता दुई टोलीबीच फाइनल खेल मंसीर ३ गते अहमदाबादमा हुनेछ।