सिन्धुली– सिन्धुलीमा सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह भागबण्डा गरेका छन् । दुई दलले नेकपा एकीकृत समाजबादी दललाई नसमेटेर स्थानीय तहको प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरी भागबण्डा टुङ्ग्याएका हुन् ।
सिन्धुलीमा रहेका सत्तारुढ गठबन्धनमध्ये चार राजनीतिक दलको छलफलमा पालिका भागबण्डाको कुरा नमिलेपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले भागबण्डा टुङग्याएको जनाएका छन् ।
दुई राजनीतिक दल बिच भएको लिखित सहमति अनुसार सिन्धुलीका नौ वटा स्थानीय तह मध्ये पाँच वटामा प्रमुख नेपाली काँग्रेसले र चार वटामा प्रमुख माओवादी केन्द्रले पाएको उक्त गठबन्धनका जिल्ला संयन्त्र संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिए ।
त्यस्तै उपप्रमुख चार वटा नेपाली काँग्रेस र पाँच वटा माओवादी केन्द्रले पाएको छ । यसअघिको स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेसले जितेको तीनपाटन गाँउपालिका, गोलन्जोर गाँउपालिका र घ्याङलेख गाँउपालिका सहित कमलामाई नगरपालिका र फिक्कल गाँउपालिकाको प्रमुख नेपाली काँग्रेसले पाएको छ । यि पालिकामा उपप्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ ।
यसअघिको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जितेको मरिण गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका र सुनकोसी गाँउपालिका सहित दुधौली नगरपालिकाको प्रमुख नेकपा ९माओवादी केन्द्र०ले पाएको छ । यी पालिकामा उपप्रमुख नेपाली काँग्रेसले पाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले जित हात पारेको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाँउपालिका सत्तारुढ गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बाँडफाँड गरेका हुन् ।