कास्की : कास्कीको पोखराको एउटा होटलमा एक जना युवती मृत भेटिएकी छन्। पोखरा–८, नागढुंगास्थित होटलको कोठामा तनहुँ भीमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत भेटिएकी हुन्।
यो घटना मंगलबार दिउँसोको भएको कास्की प्रहरीले जनाएको छ। सुकुसँगै एक जना युवक मंगलबार दिउँसो ३ बजे उक्त होटल पुगेका थिए।
तर, एक घण्टापछि ‘एटीएमबाट पैसा झिक्छु’ भन्दै ती युवक होटलबाट निस्केको होटल सञ्चालकले प्रहरीलाई प्रारम्भिक जानकारी दिएका छन्।
युवक फर्केर नआएपछि साँझ सञ्चालक उनीहरू बसेको कोठामा पुगेका थिए।
त्यहाँ अचेत देखेपछि प्रहरीलाई खबर प्राप्त भएको र अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।
सुकुलाई चरक मेमोरियल अस्पताल लगिएको थियो।घटनाबारे अनुसन्धान र सोधपुछ गर्न कास्की प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए।
सुकु नागढुंगाकै एउटा रेष्टुरेन्टमा दुई वर्षदेखि काम गरिरहेको खुलेको छ। प्रहरीले सुकुसँगै गएका युवकको खोजी थाले पनि भेटेको छैन।
होटलले युवकको परिचयपत्र पनि राखेको थिएन। युवकको जानकारी होटलमा नभएको, होटल र आसपास सीसीटीभी नभएकाले केही समस्या भएको एसपी थापाले बताए।