काठमाडौं : केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश विजयी भएको छ। आज बिहान पोखरामा भएको खेलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले। ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे। इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए। बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५ ओभर ५ बलमा ५८ रनमै समेटिएको थियो। सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए।
विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १-१ विकेट लिए। सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए। मधेसका बलरसामु सुदूरपश्चिमका ब्याटर क्रीजमा जम्न सकेनन्।
सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २ विकेट लिए। प्रतियोगितामा आजै मदन भण्डारी स्पोर्टस् एकेडेमी ब्लू र त्रिभुवन आर्मी क्लब खेल्ने छन्। यो खेल पोखरामै दिउँसो १ बजे हुनेछ।