काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
९ बजेदेखि बसेको पूर्वपदाधिकारीहरुको बैठक हाल पनि जारी छ । स्थानीय तहमा गठबन्धन बनाएपछि आफ्नो ठाउँमा प्रमुख नपाएका महानगर तथा उपमहानगर सबैमा असन्तुष्टि देखिएको छ ।
कांग्रेसले भाग पाएको स्थानमा पनि आकांक्षी धेरै भएपछि टुङ्गो लगाउन सकस भएको हो । विहिबार र शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा बसको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठकमा समेत उम्मेदवार चयनबारे छलफल भएको थियो । त्यस्तै शुक्रबार राति पनि सहमतिका लागि छलफल भएको थियो । यद्यपि नेताहरुको आआफ्नै अडानका कारण सहमति जुट्न सकेको थिएन ।
काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिमा कांग्रेसले प्रमुख पाएको छ । तीनै महानगरमा कांग्रेसलाई आन्तरिक गुटमा भागवण्डाको विषय पेचिलो बनेको छ । महानगरपालिकाको मेयर–उपमेयरका लागि काँग्रेसभित्र सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र शेखर कोइराला पक्षबीच रस्साकस्सी चलिरहेको छ ।
शुक्रबार रातिको बैठकमा सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता डा शेखर कोइरालाबीच चर्काकर्की नै भएको एक नेताले बताए । उनीबीच विराटनगरको मेयर छनौँटको विषयमा चर्काचर्की परेको बताइएको छ ।
यकाठमाडौको प्रमुख पदमा १४औं महाधिबेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाएका नेता प्रकाशमान सिंहले पत्नी सिर्जनालाई उठाउन चाहेका छन् । सिंहले देउवासँग निरन्तर भेट गरी सिर्जनालाई टिकट दिलाउन लबिङ गरिरहेका छन् । यता संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाको गृहनगर विराटनगरको प्रमुख पद आफुले पाउनुपर्ने अडानमा छन् ।