दिपायल : डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन् । राजपुर स्थित सुजङ्ग बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरु रातीको समयमा फरार भएका हुन् ।
केआईसिँह गाउँपालिका – ७ सलेना घर भई कक्षा १० मा अध्ययनरत वर्ष १७ का सुशील बलायर र सोही पालिकाको वडा नम्बर ६ घर भई कक्षा ८ मा अध्ययनरत वर्ष १६ का भोज खड्का होस्टेलबाट भागेका हुन् । सुशील लोक बहादुर बलयरका छोरा हुन् भने भोज हिम्मत खड्काका छोरा हुन् ।
स्कुलका डाइरेक्टर नरेश बलायरका अनुसार आइतबार रातिको समयमा होस्टेल छोडेर तीन जना भागेका थिए । जसमध्य एक जना सोमबार सिलगढी स्थित आफ्नो घर पुगेका छन् भने दुई जना भारत जाने सल्लाह गरेर अहिलेसम्म फरार छन् ।
हराएको सूचना पाउने बित्तिकै रातीबाट नै खोजीकार्य जारी राखेको डाइरेक्टर बलायरले बताए । विद्यार्थीहरु राती होस्टेलबाट भागेर सलेना स्थित सुशीलको घर गएको भेटियो,”उनले भने,” त्यस पश्चात घरबाट बाकस फोडेर मोबायल र नगद निकालेर बिहान कुलपाते हुँदै सिलगढी जाने बाटो चिसापानी तिर लागेको बुझियो । सुशीलका आमाबुवा उपचारका लागि घर बाहिर भएको मौका छोपी उनीहरूले झ्यालबाट घुसेर मोबाइल र नगद झिकेको भेटिन्छ।”
सुशीलले सोही मोबाइलबाट फेसबुक चलाएको भेटिन्छ। फेसबूक म्यासेन्जरमा आफू धनगढी पुगेको र पढाइ छोडेर भारत जान लागेको बताएका छन् । लोकेशन एकिन गर्न सकिएको छैन ।
स्कुल परिवार र बालकका अभिभावकहरुले बच्चाहरुको खोजीकार्य गरिदिन हुन अनुरोध गरेका छन् । प्रहरीलाई पनि जानकारी गराइएको छ । तस्बिरमा देखिएका बालक कहीं कतै भेटेमा नजिकको प्रहरी कार्यालय वा स्कुलको मोबाइल नम्बर 9849187931 मा जानकारी गराइदिन हुन अनुरोध गरिएको छ।