दार्चुला : दार्चुलामा सम्पर्क कार्यालय रहने गरी महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतको आयोजनाको नाम परिवर्तन गरी नदी नियन्त्रण अयोजनाको कार्यालय बैतडीको पाटन सरेको हो।
कार्यालय पाटन सरेपछि हिजो (सोमबार) आयोजना प्रमुखसहित कर्मचारीहरू बैतडीको पाटन गएका छन। आज (मंगलबार) पाटनमा कार्यालय व्यवस्थापनसहित कार्यालयको खाता संञ्चालनको तयारी गरिएको छ।
दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकिएको छ। सम्पर्क कार्यालयमा नयाँ इन्जिनियर र सव इन्जिनियर आउने भएका छन।
सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको इन्जिनियर विनोद बहादुर चन्दले जानकारी दिए। सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले चिनिने कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा हुने उनले बताए।
गत बैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले दार्चुला सदरमुकाम खलंगामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो। २०७० सालमा महाकाली नदीमा बाढी आउँदा महाकाली नदी नियन्त्रणका लागि महाकाली नदी नियन्त्रण आयोजना कार्यालय दार्चुलामा स्थापना गरिएको थियो।
सरकारले आर्थिक वर्ष २०७१/०७२ बाट महाकाली नदी तटीय क्षेत्र नियन्त्रणका लागि सो आयोजनाको कार्यालय दार्चुलामा स्थापना गरेको थियो। दुई अर्ब ६७ करोड बराबरको बजेटमा सुरु गरिएको सो आयोजनाको काम दुई अर्ब ६२ करोड रकम बराबरको १७ वटा प्याकेजहरुको निर्माण कार्यहरु सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
यस्तै, गत वर्ष लास्कु खोलामा आएको बाढीले करिब १ किलोमिटर तटबन्धमा क्षति पुर्याएको थियो। काम बाँकी छँदै कार्यालय सार्ने निर्णय प्रति दार्चुला बासीले सरकारको विरोध गरेका छन।
कार्यालय सार्ने विषयमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले पटक–पटक प्रधानमन्त्री र मन्त्रीलाई भेटेर कार्यालय जिल्लाबाट नसार्न आग्रह गरेको भएपनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यालय बैतडीको पाटनमा सारेको हो।