दाङ : लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई ‘महिनाबारी’ बिदा दिने भएको छ।
निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को दफा ११७ को उपदफा १ मा निजामती कर्मचारीले पाउने बिदामा महिनावारी (पिरियड) बिदा भनेर समावेश गरिएको छ।
कर्मचारीले भैपरी आउने र पर्व बिदा, घर बिदा अनि महिनावारी पिरियड बिदा, बिरामी बिदा, प्रसुति बिदा, प्रसुती स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा, असाधारण बिदा पाउने उल्लेख छ।
बिदा निजामती कर्मचारीको अधिकार नभई सहुलियत मात्र रहेको ऐनमा उल्लेख गरिएको छ। प्रदेशसभामा असार २२ गते विधेयक दर्ता भएको थियो। सरकारले दर्ता गरेको विधेयकमाथि निरन्तर छलफल भएको थियो।
भदौ २२ गते प्रदेश सभाको बैठकले सर्वसम्म रुपमा बिधेयक पारित गरेको थियो। यो विधेयकलाई प्रदेश प्रमुख अमिक शेरचनले मंसिर २१ गते प्रमाणिकरण गरेका थिए। प्रदेश सरकारले ऐन राजपत्रमा प्रकाशित गर्न बाँकी छ।
राजपत्रमा प्रकाशित भएपछी सबै कर्मचारीलाई जानकारी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। यो बिदा लुम्बिनी प्रदेश मातहतमा रहेका कर्मचारीले मात्र पाउने छन्।