सिन्धुपाल्चोक: एकपछि अर्को गर्दै विद्यार्थीको मानसिक र शारीरिक अवस्था बिग्रँदै गएपछि सिन्धुपाल्चोकको एक विद्यालयमा पठनपाठन पूर्णरुपमा बन्द गरिएको छ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माविका विद्यार्थीहरु कोही कराउने, कोही बरबराउने, कसैले अस्वाभाविकरुपमा शारीरिक हाउभाउ देखाउन थालेपछि विद्यालय बन्द गरिएको बताइएको छ। विद्यालयले जारी गरेको सूचनामा हिजो र आज दुई दिन विद्यालय बन्द रहेको उल्लेख छ।
केही दिन यतादेखि विद्यार्थीमा स्थानीय जनविश्वास अनुसार झाँक्री (देवी देवता) चढ्न थालेको बताइएको छ। विद्यार्थीहरुमा अस्वाभाविक लक्षण देखिएपछि विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक गोपीकृष्ण पराजुलीको भनाई छ।
एकपछि अर्को विद्यार्थीमा अस्वाभाविक मानसिक र शारीरिक समस्या देखिन थालेपछि थप विद्यार्थीमा उक्त समस्या नदेखियोस् भनेर विद्यालय बन्द गरिएको हो। विद्यार्थीहरुको नियमित स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएर पर्सि आइतबारदेखि नियमित पठनपाठन हुने विद्यालयले जनाएको छ।