धनगढीः युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका कैलालीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाह रहेका छन्।
उनको लडाइँको क्रममा युक्रेन र रुसको सीमामा मृत्यु भएको हो। उनको मृत्यु नोभेम्बर २० मा भए पनि परिवारले भने शुक्रवार मात्र खवर भएका थिए।
लडाइँमा गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रवार शाहको परिवारलाई मेसेज गरेर जानकारी गराएको परिवारका सदस्य मंगल शाहले बताए।
मंगलका अनुसार दुबइको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीबाट रुसी सेनामा भर्ना भएको थिए।रुसी सेनाले भने शाहको परिवारलाई आधिकारिक रुपमा यसको जानकारी गराएको छैन।
शाहसँगै युक्रेनका बिरुद्ध रुसका तर्फबाट लडिरहेका कञ्चनपुरका युवाले आफू पनि युद्ध मैदानमा रहेको र फर्किने संभावना नरहेको पीडादायी मेसेज पठाएका छन्।