काडमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘संकल्प यात्रा’ सकेर काठमाडौँ फकिएका छन् । बैतडीको झुलाघाटबाट शुरु भएको १८ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा आज पाँचथरको चिवा भञ्ज्याङमा पुगेर सम्पन्न भएसँगै एमाले अध्यक्ष ओली काठमाडौँ फर्किएका हुन्।
नेपाली सेनाको एनए-०५४ एएलएच हेलिकप्टरमा अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित दिउँसो सवा ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि आज बिहान ओलीसहित एमाले नेताहरुको टोलीलाई फिदिमबाट चिवा पुर्याउन सो हेलिकोप्टर त्यता गएको थियो ।
एमाले टोलीलाई चिवा पुर्याएर पुन: फिदिम हुँदै विराटनगरमा इन्धन भरेर हेलिकोप्टर काठमाडौँ फर्किएको हो ।
एमालेले ’सम्बन्ध स्थानीय, संदेश राष्ट्रिय’ नारा दिएर मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गको यात्रा थालेको थियो । मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत सम्भावना बुझ्न थालिएको संकल्प यात्रामा अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरु सहभागी भएका थिए ।
यात्राका क्रममा कतै पैदल हिँडेका एमाले नेताहरुले कहिँ गाडीको प्रयोग गरेका थिए । तर,आज अन्तिम दिन भने उनीहरुले हेलिकोप्टर चढेका हुन् ।