बझाङ : बझाङको छबिस पाथिभेरा गाउँपालिका-३ कुम्डाका बासिन्दाले खानेपानीको अभाव झेल्दै आएका छन् । झण्डै तीन दर्जन घरधुरी भएको कुम्डा बस्तीका नागरिकले बर्षौदेखि खानेपानीको चरम समस्या झेलिरहेका हुन् ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट व्यवस्था गरिएको भएता पनि कुम्डाका नागरिकलाई स्वास्थ्य त परैको कुरा हो खानेपानीको समेत हाहाकार छ ।
पाइपबाट मात्रै सानो पानी आउने गरेका कारण कुम्डा गाउँबाट एक घण्टाको दुरीमा रहेको ५ नम्बरमा पर्ने थलारा पचाडाबाट खानेपानी बोक्नुपर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय सचिन बोहराले दुखेसो पोखे ।
उनले भने – ‘हाम्रो ठाउँमा अहिलेसम्म कुनैपनि सरोकारवाला पक्ष पुग्न सकेको छैन । पानीको स्रोत संरक्षणमा दीर्घकालिन योजना र सोच कसैको नहुँदा बर्सेनी खानेपानीको समस्या विकराल बन्दै गएको छ ।’
सुख्खाग्रस्त क्षेत्रकारुपमा रहेको कुम्डामा बर्षौंदेखि पिउने पानीको चरम अभाव चुलिएको अर्का स्थानीय झलक बोहराले बताए । बाह्रै महिना खानेपानीको जोहो गर्न घण्टौँ लाग्ने खानेपानी बोक्दैमा दिन बित्ने गरेको उनको भनाइ छ ।
नागरिकको मत लिएर गएका जनप्रतिनिधी दोस्रोपटक गाउँमा नपुगेपछि स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् ।
यो हिउँदको खडेरिमा खानेपानी नहुँदा नागरिक छटपटाई रहेका छन् । तर, जनप्रतिनिधि आफू निर्वाचित भएपछि नफर्किएको एक स्थानीयले गुनासो गरे ।
कुम्डा बस्तीभन्दा माथि पानीको मुहान नहुँदा यहाँका नागरिकलाई खानेपानीको समस्या भएको वडाअध्यक्ष श्यामबहादुर सिंहले बताए । उनले भने, “यो वर्ष प्रशाशनिक खर्च बाहेक वडामा रकम आएन, सबै सडकमा हालेका छौँ ।”
स्थानीयवासीको खानेपानी समस्यालाई लक्षित गरी उक्त गाउँमा आगामी वर्ष खानेपानी आयोजना निर्माणको काम सुरु गरिने अध्यक्ष सिंहले बताए ।