काठमाडौं- एक सातापछि तराई मधेसका जिल्लाहरू शान्त हुन थालेका छन्। गत आइतबार बेलुका सुनसरीबाट सुरु भएको साम्प्रदायिक दंगा अन्य जिल्लामा फैलिएको थियो।
बोलबममा जान लागेका हिन्दु समुदायले ठूलो आवाजामा डिजे बजाएको विषयलाई विवाद हुँदा कप्तानगञ्जमा गोली लागेर दुई युवकको मृत्यु भएको थियो। त्यसको विरोधमा हिन्दु समुदायले मधेसका जिल्लामा प्रदर्शन गरेपछि देश नै अशान्त बनेको थियो। प्रदर्शनमा सिरहामा पनि प्रहरीको गोली लागेर थप एक व्यक्तिको मृत्यु भयो।
सरकारले सुरुवातमा संवादका लागि चासो नदिंदा अवस्था बिग्रिएको थियो। पछि संवाद र वार्तामार्फत स्थित साम्य हुँदै गएको हो। आइतबारदेखि तराईका जिल्लाबाट कर्फयु र निषेधाज्ञा हटाइएको छ।
यद्यपी यो घटनाले तराईका जिल्लामा आगामी दिनमा पनि साम्प्रदायिक हिंसालाई मलजल गरेकाले आगामी दिन सुरक्षा चुनौती बढ्ने देखिन्छ। त्यसका लागि सरकारले धार्मिक सद्भावका लागि नयाँ रणनीति बनाउनु जरुरी छ।