२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

सुदूरपश्चिम सरोकार मञ्चको २० औं वार्षिकोत्सव, पूर्वप्रधानमन्त्रीदेखि योजना आयोगका उपाध्यक्षसम्म उपस्थित

आइतवार, भाद्र ७ २०८३०९:३९

काठमाडौं- सुदूरपश्चिम सरोकार मञ्चले स्थापनाको २०औँ वार्षिकोत्सव मनाएको छ। काठमाडौंको बत्तीसपुतलीमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा संस्थाले वार्षिकोत्सव कार्यक्रम मनाएको हो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री चन्दले मञ्च स्थापनाको २० वर्ष पूरा भएको अवसरमा शुभकामना दिँदै समग्र सुदूरपश्चिमको विकासका लागि काठमाडौंमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका विज्ञहरू एक भएर लाग्नुपर्ने बताए। ‘सुदूरपश्चिप्रतिको आफ्नो भाव र मायाले नै म स्वास्थ अवस्था कमजोर हुँदा पनि यहाँ आउन सकेँ। तपाईंहरूसँग भेट्न सकेँ। यही भावले आफ्नो माटो र जन्मेको ठाउँका लागि तपाईंहरू सबै मिलेर जानुहोस्,’ उनले भने।
मञ्चका अध्यक्ष डा. दीर्घबहादुर बमले रणसमुन्द्र डा. दीर्घसिंह बम पुरस्कारको घोषणा गरे। हरेक वर्ष सुदूरपश्चिमबाट विभिन्न क्षेत्रमा उत्कृष्ट हुने प्रतिभाका लागि पाँच लाख राशिबराबरको उक्त पुरस्कार घोषणा गरिएको हो। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय बमले आफूले सक्दो सहयोग र विज्ञता सुदूरपश्चिमको माटोका लागि खर्चिने बताए।

मञ्चका संरक्षक पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) मोतीलाल बोहराले सुदूरपश्चिमको विकासका लागि विभिन्न समूहमा रहेका सुदूरपश्चिमका अन्य सरोकारवाला निकाय मूल उद्देश्यका लागि एकजुट हुनुपर्ने धारणा राखे। 

कार्यक्रममार्फत नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरद्वारा लिखित ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ ः भूपरिवेष्टितबाट भूजडित उडान’ पुस्तक विमोचन गरिएको थियो। सुदूरपश्चिममा जन्मिएका ऐर विगत २६ वर्षदेखि नेपाल पर्यटन बोर्डमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै हाल निमित्त कार्यकारी प्रमुखको भूमिकामा छन्।samman.jpg

यसैगरी, ऊर्जाविज्ञ अनुपराध उपाध्यायले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको वर्तमान अवस्था र ऊर्जाक्षेत्रमार्फत समग्र सुदूपश्चिमको विकासका लागि हुन सक्ने सम्भावनाबारे शोधपत्र प्रस्तुत गरे। उपाध्याय पूर्वऊर्जासचिवसमेत हुन्।

सुदूरपश्चिमको कृषि क्षेत्रको अवस्थाबारे कृषिविज्ञ यज्ञराज जोशीले आफ्नो धारणा राखेका थिए। मञ्चका महासचिव सुरेन्द्र जोशीले मञ्चको आवश्यकता र स्थापनादेखि २० वर्ष लामो यात्राबारे  प्रकाश पारे। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको समेत उपस्थिति थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार