२०८३, आश्विन १६ गते

२०८३, आश्विन १६ गते

अधिकृतको मोबाइलमा भेटियो २८ लाख घुसको प्रमाण

मंगलवार, आश्विन १३ २०८३१२:४६

काठमाडौं - बैंक खातामै घुस खाने खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। उनले आफन्त तथा साथीका बैंक खाता प्रयोग गरी ५३ व्यवसायीसँग २८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको छ । आयोगले सोमबार उनका ससुरा वसन्तकुमार बस्याल क्षेत्री तथा साथीहरू रश्मिता श्रेष्ठ र सुरेश चौधरीविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा घुससम्बन्धी मुद्दा दायर गरेको छ ।

चीनबाट खाद्यसम्बन्धी सामान आयात गर्दा स्वीकृति दिनेक्रममा उनले व्यवसायीबाट घुस रकम असुलेका हुन् । उनले व्यवसायी तथा उनीहरूका भन्सार एजेन्टहरूसँग ह्वाट्सएपमा डिल गरी क्युआर पठाएर बैंक खातामै घुस मगाउँथे । एक व्यवसायीको उजुरीका आधारमा अख्तियारले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको ह्वाट्सएपमा ५३ जना व्यवसायीसँग घुस लिएको पुष्टि भएको छ । थप घुस लेनदेनबारे आयोगले अनुसन्धान गरिरहेको छ ।

१६ चैत ०८२ मा अधिकारीविरुद्ध व्यवसायी हर्ष वंसलले उजुरी दिएका थिए । अधिकृत अधिकारीले उनीसँग दुईपटक गरी बैंक खातामै पाँच हजार घुस लिएका थिए । त्यसको प्रमाणसहित उनले उजुरी दिएपछि आयोगले अधिकारीलाई पक्राउ नै गरेर अनुसन्धान गरेको थियो । अनुसन्धान लम्बिएपछि उनलाई पाँच लाख धरौटीमा छाडेर विस्तृत छानबिन भएको थियो । अनुसन्धानका क्रममा उनको मोबाइलबाट थप घुस कारोबार पुष्टि भएका हुन् । उनको ह्वाट्सएपमा पैसा मागेको विषयदेखि पैसा खातामा जम्मा गरिएका स्क्रिनसट तथा भौचरसमेत भेटिएका छन् ।

अधिकारीले आफ्नै बैंक खातामा एक लाख ३९ हजार, वसन्तकुमार बस्याल क्षेत्रीको खातामा आठ लाख ९४ हजार पाँच सय, रश्मिता श्रेष्ठको खातामा १४ लाख ९३ हजार ३७५ तथा सुरेश चौधरीको खातामा दुई लाख ६९ हजार घुस लिएको छानबिनबाट पुष्टि भएको छ । ती खाताको एटिएम भने अधिकारी आफैँले प्रयोग गर्दै आएको उनको आफ्नै बयान छ । विदेशबाट खाद्य सामग्री आयात गर्दा विभागको स्वीकृति लिनुपर्ने व्यवस्था छ । स्वीकृति रोकेर अधिकारीले डिल गर्दथे । घुस खाएपछि मात्र स्वीकृति दिन्थे । उनीबाट आजित भएपछि व्यवसायी अख्तियारमा उजुरी दिएर उनलाई छानबिनमा तानेका हुन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार