काठमाडौं । बिचौलिया भनेर कहलिएका दीपक भट्टको नेटवर्क नै ध्वस्त पार्ने गरी सरकारले अनुसन्धान अघि बढाएको छ। जस क्रममा उनका दाई सुशील भट्ट पनि पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा उनका दाई पक्राउ परेका हुन्। सुशील लगानी बोर्डका पूर्वसिइओ हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो। यसअघि पक्राउ परेका ईनम सापकोटामाथि अनुसन्धान गर्ने क्रममा भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सापकोटा र भट्टबिच शंकास्प्द कारोबार देखिएको छ।
कारागारमा रहेका दीपकलाई छुटाउन पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मिलेर चलखेल गरेको आरोपमा इनम पक्राउ परेका हुन्।त्यसवापत करिब ५० लाख उनले लिएको विवरण समेत भेटिएको छ। यही प्रकरणमा चोलेन्द्रलाई समेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
यसअघि भट्टविरुद्ध ६ वटा मुद्दा दायर भइसकेको छ। जसमा व्यवसायीहरु शेखर गोल्छा, शंकरलाल अग्रवाल लगायत परेका छन्। सरकारले भट्टको सिंगो नेटवर्क नै भत्काउने गरी अनुसन्धान गरिरहेको छ।
कुनै समय देशमा सबैभन्दा शक्तिशाली भएर राज गरेका भट्टकै कारण अहिले धेरैलाई मुद्दा परेको छ।