काठमाडौं : सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट क्याप्टेन प्रकाश सेढाईंको मृत्यु भएको छ। उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो। उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो मृत्यु भएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए।
Author: महेन्द्रनगर पोष्ट
जनकपु: जनकपुरस्थित रेल्वे स्टेशन आसपासबाट पेस्तोलसहित एक जना भारतीय युवती पक्राउ परेकी छन्। भारतको बिहारस्थित लकीसराई ग्रामपञ्चायतकी पूजाकुमारी सहनी पक्राउ परेकी हुन्। उनको साथबाट कटुवा पेस्तोलसँगै भारतीय कम्पनीको एउटा सिम र केहि नेपाली रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ। सूचनाको आधारमा गएको सुरक्षाकर्मीको टोलीले रेल्वे स्टेशन नजिकैको हनुमान मन्दिरमा सुरक्षा जाँच गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यस सम्बन्धी थप अनुसन्धानका सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
धनगढी : कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। हिजो मंगलबार राती करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ बस्ने बर्ष ४२ को राम शरण रानालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। विशेष सुराकीको आधारमा रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा पाँच थान सहित रानालाई नियन्त्रणमा लिइएको हो।
बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–५ ओदालीका ३२ वर्षीय रामबहादुर चन्द हिजो मंगलबार मृत भेट्टिएका हुन्। चन्द पाटन– मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट २०० मिटर तल मृत भेट्टिएका हुन्। सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
काठमाडौं : दसैको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसै घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।
कञ्चनपुरः कञ्चनपुरमा गोहीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको पूर्नवास नगरपालिका–९ बिचफाटाकी ३२ वर्षीया लालसरा सार्की गोहीको आक्रमणबाट हिजो (सोमवार) घाइते भएकी हुन्। सार्कीलाई प्यारातालको नालामा घाँस काट्ने क्रममा गोहीले आक्रमण गरेको हो। सार्कीको गोहीको आक्रमणबाट बाँया हात र खुट्टामा चोट लागेको छ। उनको सेती प्रादेशिक अस्पातलमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
काठमाडौँ: हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
काठमाडौँ : हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
काठमाडौँ : आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।
बैतडी : भीरबाट लडेर बैतडीमा आज एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पाटन नगरपालिका ४ कुणीका ५० वर्षीय वीरसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिए। दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेकाे लिसान्गड भीरबाट लडेका थिए। भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारकाे लागि धनगढी लैजाँदै गर्दा साेमबार बेलुका बाटोमै मृत्यु भएकाे प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।