बैतडीः बैतडीमा बोकाले हान्दा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको आज (सोमवार) दिउँसो स्थानीय दोसिर भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।
खर काट्न गएकी पार्वती छिमेकीको बोका खरबारीमा आएपछि धपाउने क्रममा बोकाले हान्दा लडेर करिब ५ सय मिटर तल भिरमा खसेकी थिइन्। बोकाले हानेर ५ सय मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको सोहि वडाका वडा अध्यक्ष शम्भुप्रसाद भट्टले बताए।
यस्तै बैतडीमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भएर आगो लाग्दा एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–९ चौखामका ४० वर्षीय सुरेन्द्र धामी गम्भीर घाइते भएका हुन्।
आइतवार बिहान स्थानीय शिक्षक समेत रहेका सलिभान धामीको घरमा रहेको सिलिण्डर मर्मत गर्ने क्रममा सिलिण्डरबाट ग्याँस लिक भएर लागेको आगोले धामी गम्भीर घाइते भएको वडा नम्बर–९ का वडाध्यक्ष कृष्णसिंह धामीले बताए।
अहिले सुरेन्द्रलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ।