कञ्चनपुर : कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा भ्रष्टाचार गरेकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएका छन्। ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभीले हात पारेको हो। नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको थियो।
बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दका ‘खास’ मान्छे तेजबहादुर चन्दले सेटिङमा उक्त ठेक्का हत्याएको कञ्चनपुरमा चर्चा छ। आफ्नै क्रसरसमेत रहेका चन्दले सेटिङ मिलाएर नदीजन्य पदार्थको ठेक्का हत्याएको बताइन्छ।
भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको थियो। तर, उक्त ठेक्का पाएपछि महाकालीमा जथाभावी उत्खनन भइरहेको छ।
सम्झौतामा दोधाराको २ र भीमदत्तको २ घाटमा मात्र उत्खनन गर्नुपर्ने उल्लेख छ। तर, यहाँ सम्झौताविपरीत डोजर र स्काभेटर नै प्रयोग गरेर १० गुणाबढी उत्खनन भइरहेको छ। सम्झौतामा भने स्काभेटर लगाउन नपाइने भनिएको छ। यस्तै नदीजन्य पदार्थ उत्खनन् गर्दा आधा मिटरमात्रै खन्न पाइनेमा यिनीहरुले धेरै गहिरोसम्म खनिरहेको बताइएको छ।
जथाभावी खनेर एकैदिनमा १२ हजार घनमिटर नदीजन्य पदार्थ उठाइरहेको बताइएको छ। सोही क्षेत्रमा राष्ट्रिय गौरवको चार लेन महाकाली पुल बनिरहेको छ। यस्तै एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल पनि सोही क्षेत्रमा छ। यसरी अन्धाधुन्ध उत्खनन गर्दा बर्खामा बाढी आएर दुवै पुल जोखिममा पर्नसक्ने जारकारहरु बताउँछन्।
उसो त पहिले पनि यसरी नै अन्धाधुन्ध उत्खनन गर्दा निर्माणाधीन ४ लेन(भाइरल रोड) सडकको केही भाग बगाएको थियो। जसको पुनःनिर्माण अहिलेसम्म हुन सकेको छैन। यसपालि पनि यसरी नै उत्खनन हुने हो भने पुनः उक्त सडकलाई हानी हुनसक्ने स्थानीय बताउँछन्।
अहिले महाकाली दोहनबारे स्थानीयहरु बोल्न थालेका छन्। तर, सेटिङमा संरक्षण गर्ने अख्तियारका आयुक्त जयबहादुर चन्द नै भएकाले उनीहरु डराइरहेका छन्।
यो पनि:
महाकाली खन्न सेटिङै सेटिङ, अख्तियार मिलाउन ‘रेटिङ’ !
महाकालीमा माफियाकै कब्जा, सेटिङमा ठेक्का !