काठमाडौं: नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली अनिवार्य अवकाशमा जादैछ्न्। ज्ञवाली उमेर हदका कारण अवकाशमा जान लागेका हुन्।
स्रोतका अनुसार भदौ २६ गतेबाट अवकाश पाउने उनी अवकाशअघि आज हाजिर हुने गरी बिदामा बसेका थिए।
उनी भदौ २५ गते प्रहरीबाट बिदा हुने तयारीमा छन्। उसो त उनले केही समय अगाडि सर्वोच्च अदालतमा उमेरहद हटाउन माग गर्दै रिट हालेका थिए।
तर सर्वोच्चले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। त्यसपछि उनी अनिवार्य अवकाशमा जाने निश्चित भएको हो।
के हुँदैछ छानबिन ?
एआईजी ज्ञवाली निकै विवादित प्रहरीका वरिष्ठ अधिकारी हुन्। घर जानै लाग्दा पनि उनीमाथि छानबिन जारी छ। उनकै समकक्षी टेकप्रसाद राईको नेतृत्वमा गठित छानबिन टोलीले उनीमाथि छानबिन थालेकोमा अहिलेसम्म सकिएको या नसकिएको कुनै प्रतिक्रिया दिएको छैन।
साउन १५ गतेबाट काम थालेको सो टोलीले १ महिनाभन्दा बढी समयावधि गुजारिसकेको छ। तर छानबिन कहाँ पुग्यो ? त्यसको भने कुनै टुंगो छैन। स्रोतका अनुसार एआईजी ज्ञवाली घर जान लागेकाले उनलाई चोख्याएरै पठाउने तयारी छ।
सोही तयारी बमोजिम उनी दोषी प्रमाणीत हुने अवस्था भएकाले छानबिन लम्ब्याइएको हो।
केही समय अगाडि चर्चित ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेसँग अमेरिका र दुबई घुम्न सपरिवारका निम्ति टिकट लिएको, उमेरसम्बन्धी विवाद, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको र छोराछोरीलाई विदेशमा राखेको लगायत अनेकन विषयमा उजुरी परेपछि एआईजी राईको नेतृत्वमा छानबिन टोली बनाइएको थियो। सो टोलीले उनीमाथि छानबिन थालेको थियो।
साथै ज्ञवालीमाथि पूर्व गृहमन्त्री रवि लामिछानेसँगै मिलेर आईजीपी वसन्त कुँवरलाई हटाएर आफू आइजिपी हुने खेलमा लागेको पनि आरोप लागेको थियो।
तत्कालीन समयमा लामिछाने गृहमन्त्री बनेसङ्गै एकाएक केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख बनाइएका उनी र उनको सचिवालयमाथि त्यसबीच प्रहरी मुख्यालयमा दर्जनौं उजुरी परेका थिए।
ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने, एलओडी डिस्कोको नावालिका करणी, बालमन्दिरको जग्गा घोटाला,सेन्चुरी बैंकको ठगीलगायत विभिन्न प्रकरणमा लेनदेन गरेकोसमेत उजुरी परेका थिए।
उजुरीपछि हालका गृहमन्त्री रमेश लेखक आएपछि राईको नेतृत्वमा गठित छानबिन कार्यदल काम थालेको थियो।
त्यस क्रममा ज्ञवालीविरुद्ध लागेका आरोप पुष्ट्याइँ हुने दसी प्रमाणहरु फेला परेको प्रहरी स्रोतले जनाएको छ। तर कारबाही नगरी घर पठाउने प्रहरीको तयारी छ।
र, यो पनि: एआईजी ज्ञवाली दोषी प्रमाणीत ?